हामी कता हिँडेका हौ

Yogendra Parajuli · मंसिर २७, २०८० ३:२० PM
Cover Image for News

हामी कता हिँडेका हौ?
जलाएर आफ्नै घर
फेरि त्यहाँ फर्किनु पर्दैन जसो गरी
वर्षौ अघिदेखि दिव्य कोठामा सजिएका परुहाङ र सुम्निमा को चित्र
त्यसै बिर्सिएर
फेरि हामीले कहिल्यै कसैलाई प्रेम गर्नुपर्दैन जसो गरी?
हामी कहाँ हिँडेका हौ
बोकेर टिफिन बक्सहरुमा आफ्नै जलेको घरको
खरानीको खाजा!
कति ठाउँ बिसाउने सोच छ?
कतिन्जेल पुर्याउने सोच छ?

के भए हाम्रा जिब्राहरूलाई
किन उच्चारण गर्न बिर्सिएका हुन मुन्धुम शुद्ध सँगले?
किन चिप्लिन्छ जिब्रो ?
किन काम्छ हात ?
कता सम्म पुग्ने? कति ओटा गाडी फेर्ने?
आफ्नै बाजेको कविता बेचेको पैसाले के - के गर्ने विचार छ?

बिर्सिएर आफ्नै भाषा
सपनामा आए भने मुन्धुम का देउता
कसरी भन्छौ मनको बात?
कसरी सुनाउँछौ आफ्नु पीडा?
कसरी पूरा हुन्छ  तिम्रो रहर?

बेचेर सबै सबै चौरी
हटाएर आफ्नो " गोठालो" उपनाम
के थप्ने मन छ तिमीलाई आफ्नो नामको पछाडी?
फुकालेर बख्खु र डोचा यस्तो मुटु काप्ने जाडोमा
कुन घाम खोज्दै बरालिन मन छ?
बिर्सिएर आफ्नो डाँडा, देउराली
कुन धाम खोज्दै बरालिन मन छ?
उखेलेर आफ्नै आँगनको फूलको बोट
कुन फूल टिपेर कुन ठाउँ चढाउन मन छ?

कुन अत्तर दल्ने हो ?
हटाउन आफ्नै हातबाट आफ्नो माटोको गन्ध
कुन छ्याङ पिउने हो?
बिर्साउन यत्रो वियोगको पीडा?
कुन शीतल छहारी खोज्दै भड्किने हो
छोडेर हिउँको न्यानोपन!
के गर्ने हो?
होला नी त केही सोचेको?

हिँडेपछि जलाएर आफनो घर
माग्न जाँदा बास् कुनै पराईको घरमा
आउँदैन घरको बिस्तराको याद?
सुत्दा उसको पिढीमा
हान्दा चिसो सिरेटोले
आउँदैन आफ्नै सिरकको याद?
यत्रो विघ्न निष्ठुरी भएर हिँडेको तिमि
फेर्ने होला नी आफ्नो नाम?
के राख्ने हो?
होला नी त केही सोचेको?

ट्यागहरू:
सहित्य कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू