जलन

कर्ण गुरुङ · मंसिर २८, २०८० २:१५ PM
Cover Image for News

हुन त हो 
तिमीले 
त्यस्तो केही गरेको छैनौ 
मप्रती ईर्ष्या रोपेको छैनौ 
पीडा पनि दिएको छैनौ 
तर पनि खै के हुन्छ 
तिम्रो प्रगती मलाई पटक्कै मन पर्दैन 
मेरो छेउबाट हिड्दा टोक्न मन लाग्छ 
अलिकति भए पनि दुखाउँ जस्तो लाग्छ 
भरसक टाडा हुन मन लाग्छ 
पर बसेर कुरा काट्न मन लाग्छ 
भको-नभको कुरा लगाउन मन लाग्छ 
तिमीलाई लडाउन मन लाग्छ 
पल्टाउन मन लाग्छ 
खुट्टा तान्न मन लाग्छ 
किन हो कुन्नी तिम्रो प्रगती 
मेरो लागी सराप जस्तै लाग्छ ।

तिमीले केहि नगरे पनि मन दुखी रहन्छ 
पीडा भइरहन्छ 
तिमी मेरो छेउमा आउदा ब्यांगे हान्न मन लाग्छ 
माजन, बाठे, नेता, पेलुवा, दलाल …
यस्तै के-के, के-के भन्न मन लाग्छ 
खै ! मलाई के भाछ 
तिमी संग केही दुष्मनी छैन 
तिमीसँग केही मनमुटाव छैन 
तिमीसँग केही लिनुदिनु पनि छैन 
तर पनि घोक्रे ठ्याक लगाई 
म जस्तै भको देख्न मन लाग्छ 
हुन त हो 
तिमीले...
त्यस्तो केही गरेको छैनौ 
तर पनि खै के हुन्छ 
तिम्रो प्रगती पटक्कै मन पर्दैन 
तिम्रो उन्नती पटक्कै मन पर्दैन 

तिमीले समाजको कुरा गर्दा 
तिमीले राष्ट्रको कुरा गर्दा 
तिमीले पहिचानको कुरा गर्दा 
मेरो शरिरभरीका रौं ठाडा हुन्छन् 
सहानुभूतिको लागि नभएर 
थप्पड मार्नका लागि 
तिम्रो जिब्रो थुत्न मन लाग्छ 
तिम्रो कलम भाँचन मन लाग्छ 
तिम्रो सिर्जना च्यात्न मन लाग्छ 
अनि फेरि यो समाजलाई 
मजस्तै नपुंसक बनाउन मन लाग्छ 
मजस्तै बेवारिसे बनाउन मन लाग्छ । 
खै किन किन 
तिम्रो प्रगतिदेखी डाह लागेर आउँछ 
ईर्ष्या लागेर आउँछ। 

तिमीले आउ केही गरौं भन्दा
प्रगतिको शिखर चढौं भन्दा 
अहँ ! हुन्न म यहि ठिकै छु जस्तो लाग्छ 
अरुको खुशीमा औंलो ठड्याउँदै बस्न मन लाग्छ 
तर तिमीले छेउबाट मोटर गुडाउदा 
मलाई भित्रै बाट अमिलो डकार आउँछ 
तिमीलाई निचारेर पछारिहालौं झैं लाग्छ 
गएर त्यो महंगो मोटरमा आगो लगाइदिउँ झैं लाग्छ 
आफू केही गर्न नसकेपछि 
उसको जीतमा
उसको प्रगतिमा 
उसको उन्नतिमा 
एक पाथी थुकिदिउ जस्तो लाग्छ 
खोइ ! हिजो आज तिमीलाई देख्दा 
यस्तै कस्तो भावना आउँछ 
यस्तै यस्तै सोच्न मन लाग्छ 
कमिला भएको भए 
बेस्सरी कुल्चिएर मारिदिन्थे जस्तो लाग्छ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू