म धर्मी कि अधर्मी

धर्मेन्द्र तिम्सिना “”क्षितिज”” · मंसिर २७, २०८० ८:४३ PM
Cover Image for News

म ब्राह्मणको छोरो हुँ 

म तिमीले नै भनेको उपल्लो जातको हुँ 

म त्यही गीता र वेद पढ्नुपर्ने श्रेष्ठताको प्रतिक हुँ 

म जनाइ लगाएर गायत्री जप्नुपर्ने योग्यताको हुँ 

तर न मलाई उपल्लो जातको हुँ जस्तो लाग्छ 

न गीता र वेद पढ्नै पर्ने श्रेष्ठ हुँ जस्तो आभास हुन्छ 

मैले बेलाबेला मात्र जनाई लगाएको छु 

अनि गायत्री मन्त्र सुनेको मात्र छु 

तिम्रा नियमानुसार

मैले गीता पढ्नैपर्ने हो 

वेद घोक्नैपर्ने हो 

गायत्री मन्त्र जप्नैपर्ने हो 

तर मैले जपेको पनि छैन 

अनि घोकेको पनि छैन 

अब म धर्मी कि अधर्मी 

के अब म धर्मी कि अधर्मी 

मैले गीताको सार अलिअली बुझेको छु 
रामायण दुइचार अध्याय पढेको छु 
भागवत पनि अलिअली घोकेको छु 
म पूर्ण केहिमा छैन 
अपूर्ण छु जस्तो पनि लाग्दैन 
कछाड बेरेर खाना खाएको छैन 
बरु छालाको जुत्ता लगाएर खाएको छु 
मैले नवग्रह शान्ति भन्दै पानी समाएको छैन 
बिहानै उठेर जय श्री राम भन्दै 
टाउकाबाट एक आङ्खोरा पानी खन्याएको छैन 
मैले ठुली र सानी एकादशीको व्रत बसेको छैन 
मैले पन्था मारेर धार्मिक कथाहरू सुनेको छैन 
मैले मादल बजाएर भजन गाएको छैन 
मैले रामायणलाई सम्मान गरेको छु 
वाल्मीकिलाई साहित्यकारको रुपमा हेरेको छु 
सबैसँग घुँडा जोडाएर खाएको छु 
मैले ग्रहको अर्चना गर्नुभन्दा वैज्ञानिक अनुसन्धान गरेको छु 
अब म धर्मी कि अधर्मी 
के अब म धर्मी कि अधर्मी 


मैले बाइबललाई माया दिएको छु 
कुरानलाई प्रेम गरेको छु 
गीता वेद र उपनिषदहरुलाई सम्मान गरेको छु 
तिमीलाई मन परोस् या नपरोस् 
तिमीलाई चित्त बुझोस् या नबुझोस 
गीता कुरान र बाइबललाई एउटा दर्जामा राखेको छु 
येशु ख्रीष्ट, प्रोफेट मोहम्मद, कृष्ण अनि बुद्धलाई 
क्रीस्चियन, मुस्लिम, हिन्दु अनि बुद्धिष्टलाइ 
एउटै दृष्टिले हेरेको छु 
एकै नजरले देख्ने गरेको छु 
हिन्दुलाई श्रीमन्नारायण भनेको छु 
मुस्लिमलाई सलामालिकुम भनेको छु 
क्रीस्चियनलाई जय मशिहा भनेको छु 
अनि बुद्धिस्टहरुलाई माने पद्मे हुँ पनि भनेको छु 
मैले सबैलाई समान देख्दा ईश्वर रिसाउलान त ? 
मैले सबैलाई एकै नजरले हेर्दा अधर्मी बनुँला र ? 
अब भन्नुस् 
म धर्मी कि अधर्मी 
के म धर्मी कि अधर्मी 


म कसैको पीडामा हाँस्न सक्दिन 
कसैको दुखलाई टुलुटुलु हेर्न सक्दिन 
अरुको आँसुमा रुने बानी छ मेरो 
अरुको खुशीमा अझ धेरै खुशी थप्ने बानी छ मेरो 
कसैलाई सहयोग गर्नुपर्दा 
कसैको पीडामा मलमपट्टी लगाउनुपर्दा 
बाइबल पल्टाएर हेर्दिन म 
वेदका ॠचाहरुले अभिषेक गर्न जान्दिन म  
कुरान पढेर अल्लाहलाई पुकार्न सक्दिन म 
सकेको गरिहाल्छु 
नसकेको सहयोग लिन्छु 
कसैको दुखलाई 
आस्थासँग लगेर जोड्दिन म
विश्वाससँग लगेर जोड्दिन म 
अर्को धर्मको भनेर कान ओछ्याउँदिन म
अर्को सम्प्रदायको भनेर मुण्टो बटार्दिन म 
मात्र मानवता सम्झन्छु 
मानवता नै सबैभन्दा ठूलो धर्म ठान्दछु 
अब भन्नुस् 
म धर्मी कि अधर्मी 
के म धर्मी कि अधर्मी 

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू