साहित्य र कलालाई माया गर्ने थलोको रुपमा कनकाईलाई चिनाउने प्रयास

Admin · फागुन १६, २०८० ८:४१ AM
Cover Image for News

 झापाको मध्य भाग कनकाईको सुरुङ्गामा सम्पन्न तीन दिवसीय कला, संस्कृति तथा साहित्य महोत्सवले उक्त क्षेत्रको नयाँ पहिचान थपिएको छ ।

धार्मिक तथा पर्यटकीय नगरको रूपमा परिचित कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने प्रयास गरेको छ । यस क्षेत्रको सामाजिक गतिविधिमा क्रियाशिल रोटरी क्लव अफ सुरुङ्गाले पहिलो पटक कला–साहित्य उत्सवको सफलतापूर्वक सम्पन्न गरेर नगरले नयाँ पहिचान थपेको हो । रोटरी क्लब अफ सुरुङ्गाले स्थानीय पशुपति अंग्रेजी मावि परिसरमा यही फागुन १४ देखि १६ गतेसम्म कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न गरेको हो । उत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाएका थिए ।

वरिष्ठ अभिनेता नीर शाहले उद्घाटन गरेको महोत्सवको बुधबार समापन समारोहलाई वरिष्ठ कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तुलसी दिवसले सम्बोधन गर्नुभएको थियो । उहाँले कनकाईले साहित्य र कलाको महत्व बुझेर महोत्सव आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

समापनको अवसरमा राष्ट्रिय कवि एवं साहित्यकारहरूको जमघटले आकर्षण बढाएको थियो । प्रसिद्ध कविहरू अर्जुन पराजुली, कुन्ता शर्मा, लक्ष्मण गाम्नागे, मनु मञ्जिल, डा.देवी नेपाल, धीरेन्द्र प्रेमर्षी, कोमलप्रसाद पोखरेल, माया मानवी लगायतले आफ्ना कविता वाचन गर्दा दर्शक दीर्घाबाट वाहवाही पाएका थिए ।


रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेलले पहिलोपल्ट सुरुंगामा साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाउँदै दर्शक र पाहुनाको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । उहाँले आगामी वर्ष महोत्सवलाई कुनै न कुनै रुपमा निरन्तरता दिइने बताउनुभयो ।


महोत्सवमा राष्ट्रियता झल्काउने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको रोटरी क्लब अफ कनकाईका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय जातिको भेषभूषा, नृत्य र झाँकी प्रस्तुत गरिएको पोखरेलले बताउनुभयो । तीन दिनसम्म एक दर्जनभन्दा बढी कार्यक्रम महोत्सवमा सम्पन्न भएका छन् ।


नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखनका लागि प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । प्रशिक्षण विभागका संयोजक एवं रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष टिकाप्रसाद कट्टेलको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रम हरिकुल नमुना माविमा संचालन भएको हो । विभिन्न १० वटा विद्यालयका विद्यार्थीहरुले प्रशिक्षण कार्यक्रममा सहभागीता जनाएका थिए ।


महोत्सवमा पुस्तक मेला साथै पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो। महोत्सवको अर्को आकर्षण कला प्रदर्शनी रहेको बताइएको छ ।

चित्रकार हिम्मत नेम्वाङ र व्यङ्ग्य चित्रकार पवन राजवंशीको चित्र तथा मूर्तिकलाको त्यहाँ प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा अवलोकनकर्ताको ओइरो लागेको थियो । विगत दुई दशकदेखि कला क्षेत्रमा समर्पित नेम्वाङका ४० वटा तेल चित्र, छाम्ने चित्र र मूर्ति कला प्रदर्शनीमा राखिएका थिए । आँखा देख्न नसक्नेले पनि छामेर थाहा पाउन सक्ने एक दर्जन चित्र प्रदर्शनीमा थिए । कार्टुनिष्ट राजवंशीका दुई दर्जन व्यङ्ग्य चित्र प्रदर्शनीमा थिए ।


रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कडेँलको अध्यक्षता एवं वरिष्ठ कवि एवं संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्य रहेको विशेष कार्यक्रममा राष्ट्रिय कवि एवं साहित्यकारहरूको प्रत्यक्ष सहभागीता रहेको थियो ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।