ताप्लेजुङको पाथीभरामा 'मूर्च्छना' गीत संग्रहको ऐतिहासिक लोकार्पण

Admin · फागुन १७, २०८० ७:३० PM
Cover Image for News


दिलिप घिमिरे
  आज  गीतकार टीका भट्टराई नेपालको पाचौँ कृति `मूर्च्छना´ गीत सङग्रहको विमोचन  गरिएको छ।   
कनकाई नगरपालिका वार्ड नं  ३ ,सुरुङ्गा निवासी नेपालले ताप्लेजुङ जिल्लामा पर्ने पवित्र तीर्थस्थल पाथीभरा देवीको मन्दिर परिसरमा उक्त कृतिको लोकार्पण गरिएको  हो। कार्यक्रम नारायण गोपाल स्मृति प्रतिष्ठान विर्तामोडको आयोजना रहेको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी साहित्यकार टंक भट्टराईले ताप्लेजुङको मन्दिर परिसरमा यस अघि कुनै सष्टाको कृति यसरी विमोचन गरिएको थिएन। टीका भट्टराई नेपालको यो कृति विमोचन ऐतिहासिक बनेको बताए।
प्रमुख अतिथि भट्टराई  र कार्यक्रमका विशेष अतिथि प्राज्ञ मुनाराज शेेर्माले कृतिको लोकार्पण संयुक्त रुपमा गरेका थिए।
कार्यक्रममा मूर्च्छना कृतिको समीक्षा गजलकार तथा गीतकार दिलिप घिमिरेले गरेका थिए ।मूर्च्छना गीत संग्रहमा १ सय २० वटा गीतहरू संग्रहित छन्।संग्रहमा देशभक्ति गीत,युगल गीत,लोक गीत र आधुनिक  विधाका गीतहरू पुस्तकमा समेटिएको छ।सरल भाषाशैली र उत्कृष्ट शब्द संयोजन रहेको  टीका भट्टराई नेपालका गीतहरूमा देशप्रेम,माटोको सुगन्ध ,नेपाली संस्कृतिप्रतिको मोह,परम्परा र चाडपर्वमा आएको विकृतिप्रतिको चिन्ता,जीवनयापनका यावत आरोह अवरोध,माया प्रेम,पीडा आदि विषयमा गीतहरू सृजना गरिएका छन्।
कार्यक्रममा रश्मि असफल,गीता सुवेदी नेपाल र प्रतिभा पौडेलले विमोचित कृतिबाट गीत प्रस्तुत गरेका थिए ।
 नारायण गोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन प्रतिष्ठानका सचिव रुद्रप्रसादप्रसाद सिटौला गरेका थिए ।
कार्यक्रममा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्गवाङ्ग,कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका कमल भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्रष्टा परिचय खगिन्दा खुसीले राखेकी थिइन् भने स्वागत मन्तव्य लोक गायक देवी गौतमले गरेका थिए ।
गीतकार टीका भट्टराईलाई गतसाल गीतकार संघ नेपालले उत्कृष्ट गीतकारको रुपमा सम्मान तथा पुरस्कृत गरेको थियो। उनको पहिलो कृति 'आमा' शोककाव्यबाट साहित्य विधामा कलम चलाएकी हुन् ।त्यसपछिका तीनवटा कृतिहरु प्रितीपुष्प, मनका रङ्गहरु,अनुभूतिका स्वरहरु सबै गीत सङ्ग्रहहरु  छन् । 
टीका भट्टराईका गीतहरुमा यशोदा पराजुली, नरेन्द्र प्यासी,शिशिर योगी, प्रमोद खरेल, मेनुका पौडेल, निशान्त भट्टराई र झलक सङ्ग्रौलाले स्वर दिइसक्नु भएको छ। उहाँका करिव ३० वटा गीतहरू संगीत भइ बजारमा आइसकेका छन् ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।